काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
काठमाडौँ, २२ वैशाख : नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीका महाधिवेशन प्रतिनिधिले प्रदेशस्तरीय प्रशिक्षण गर्ने, काङ्ग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण गर्ने भएको छ ।
यस्तै सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा लोकतन्त्रका लागि काङ्ग्रेस भेला आयोजना गर्ने र समसामयिक राष्ट्रिय विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।
काङ्ग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काङ्ग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने, काङ्ग्रेसका क्रियाशील सदस्य नवीकरण गर्नुपूर्व प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
‘राष्ट्रिय जागरण’लाई सफल बनाउन विविध कार्यक्रम
नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । काङ्गे्रसले यही वैशाख २५ गतेदेखि मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणअन्तर्गतको एकमहिने कार्यक्रम प्रारम्भ गर्दैछ ।
बैठकले पार्टीका महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने, सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै काङ्ग्रेसले आफ्नो पार्टीबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौँमा आयोजना गर्ने, पार्टीका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गराउने भएको छ ।
विदेशस्थित जनसम्पर्क समितिमा आबद्धलाई प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने, सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काङ्ग्रेस मेला’ को आयोजना गरिने सचिव आचार्यले जानकारी दिनुभयो ।
बैठकले समसामयिक राष्ट्रिय विषय र अन्तर्राष्ट्रिय विषयका विचार–गोष्ठी÷छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । साथै नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, काङ्ग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन आदिको विषयमा जानकारी दिन र काङ्ग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन उमेर समूहअनुसार विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
पार्टीको विधानमा व्यवस्था भए बमोजिम काङ्ग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नु पूर्वप्रशिक्षण लिएको हुनैपर्नेे भएकोले सबै क्रियाशील सदस्यका लागि विभिन्न तह र चरणमा प्रशिक्षण कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
