काङ्ग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो

काठमाडौँ, ६ वैशाख : नेपाली काङ्ग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महीनाका लागि गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिनुभयो । काङ्ग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो ।

प्रतिनिधि खटाउँदा काङ्ग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । काङ्ग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.