बकर इदको शुभकामना
काठमाडौँ, ६ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
उपपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले जारी गरेको शुुभकामना सन्देशमा सो पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद (इदुल जोहा) पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सन्देशमा नेपालको विविध धार्मिक तथा साँस्कृतिक मान्यताको धनी हाम्रो देशमा मनाइने बकर–इद (इदुल जोहा) पर्वको विशेष महत्व रहेको र यस पर्वका अवसरमा मुलुकमा स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण मद्दत पुग्ने उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जनाउनुभएको छ ।
उहाँले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद उल अजहा (बकर इद) का अवसरमा नेपाली मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक शुभकामना सन्देश जारी गर्दै बहुभाषा, जाति, धर्म, परम्परा र चाडपर्व रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा भाइचारा, मित्रता, सद्भाव र एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई मजबुद पार्दै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले देशविदेशमा रहेका इस्लाम धर्मावलम्बीमा शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपाका संयोजक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै सो पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र सुख अभिवृद्धि गरोस होस् भनी कामना गर्दै सबै किसिमको विभेद, कुरीति र रुढिवादविरुद्ध आफ्नो सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
