चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्री ओलीको आग्रह

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा शुक्रबार भैरहवा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै । साथमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल र प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल । तस्वीरः नरेश केसी, लुम्बिनी

भैरहवा, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे ।

पत्रकारसँग गौतमबुद्ध विमानस्थलमा कुरा गर्दै उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो ।

पत्रकारले सोधेको प्रश्नका जवाफमा उहाँले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहनुभएका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिनुभयो । उहाँ आज बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.