एक वर्षको मूल्याङ्कन गरी मन्त्रिमण्डल पुनःगठन हुनुपर्छ : वरिष्ठ नेता नेपाल

काठमाडौँ, ५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताउनुभएको छ ।

क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारर्कीको जिज्ञाशामा नेता नेपालले भन्नुभयो, “यसबीचको कामको मुल्याङ्न गर्ने समय आएको छ । एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन ।” केन्द्र सरकार र प्रदेश नं. २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतउत्व गरिरहेको छ ।

नेता नेपालले पार्टी एकताको काम तल्लो तहसम्म पुग्न नसक्नुले कार्यकर्तामा निराशा पैदा भएको उल्लेख गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि एकताले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीमा विधि र प्रणालीसहित छलफलको परम्पराले निरन्तरता पाउनुपर्नेमा पनि जोड दिनुभयो ।

अर्काे प्रसङ्गमा नेता नेपालले विखण्डनको कुरा गर्ने सिके राउत नेतृत्वको गठबन्धनलाई मूल धारमा ल्याउने सरकारको सोच सही भए पनि त्यसमा विश्वस्त हुने वातावरण सम्बन्धित पक्षले गराउनुपर्ने बताउनुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि उसलाई मूलधारमा ल्याउने ढोका बन्द नभएको तर्क गर्नुभयो ।

उहाँले जनतामा उत्पन्न त्रासको वातावरण र लगानीकर्तालाई निरुत्साहित गर्ने काम हुन नहुने पनि जनाउनुभयो । शुभारम्भ कार्यक्रममा नेता नेपालले दूरदर्शीताको अभाव, व्यक्तिगत सङ्घीर्णता, स्वार्थ र भ्रष्टाचारका कारण विकासमा बाधा हुने गरेकाले देशले परिवर्तन र विकास खोजेकाले सञ्चार क्षेत्रले विकासमा बाधक तत्वलाई चिनाई सकारात्मक पक्षलाई पनि उत्तिकै स्थान दिनुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालको जोड थियो ।

राष्ट्रिय समाचार समिति (रासस) का समाचारमा पाइने विश्वसनीयताको सन्दर्भ उल्लेख गर्दै उहाँले विश्वासनीयता नभएमा सञ्चार संस्थाको प्रतिष्ठा वृद्धि नहुने भएकाले सञ्चार क्षेत्रले विश्वसनीयता गुमाउन नहुने बताउनुभयो । नेता नेपालले भन्नुभयो, “रासस मुलुकको एकमात्र आधिकारिक समाचार समिति हो ।”

नेकपाका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी’ले सही, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्न सकेमा यस क्षेत्रमा सुदूर भविष्य हुने बताउनुभयो । नेपाल टेलिकमका प्रबन्धक डा सुनीलकुमार पोखरेल, बुद्धिजीवी डा सुरेन्द्र केसी, स्वतन्त्र उर्जा उत्पादक सङ्घ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंलगायतले सो मिडियाको सफलताका कामना गर्नुभएको थियो ।

सो एजेन्सीले अनलाइन, रेडियो, टेलिभिजनलाई आवश्यक पर्ने समाचार भिडियो, तस्बीर तथा विज्ञापन उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.