काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव

काठमाडौँ, ७ फागुन : नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काङ्ग्रेसको अबको जिम्मेवारी’ विषयक अन्तरसंवादमा पार्टी रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् ।

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई गाउँतहसम्म सक्रिय बनाउनु जरुरी रहेको बताउनुभयो । “महाधिवेशन समयमा सम्पन्न, भ्रातृ संस्थाको महाधिवेशन समयमा सम्पन्न, तरुण दलको कार्यसमितिलाई पूर्णता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरे मात्र सशक्त काङ्ग्रेस निर्माण हुन्छ,” उहाँले भन्नुभयो । काङ्ग्रेसले युवाका लागि उद्यमशीलता विकास, पार्टीलाई स्थानीय तहसम्म सक्रिय बनाउने, अन्यायविरुद्ध तत्काल आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले काङ्ग्रेसले आर्थिक क्रान्तिको एजेण्डालाई अगाडि बढाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले इतिहास भजाउनुभन्दा काङ्ग्रेस नयाँ विचार र नीतिका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले गुटको नेताभन्दा पार्टीको नेता भएर अगाडि बढे मात्र पार्टीको अस्तित्व रहने बताउनुभयो ।

वरिष्ठ पत्रकार हरिहर विरहीले महासमितिले दिएको सुझाव र विधानलाई पालना गरेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । पत्रकार पुरञ्जन आचार्यले इतिहासलाई छाडेर पार्टीले नयाँ दिशा कोरेर अगाडि बढ्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले पार्टीभित्र रहेको गुट–उपगुटको अन्त्य गरेर काङ्ग्रेस अगाडि बढ्न सुझाव दिनुभयो । नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीले काङ्ग्रेसले विगतमा गरेका गल्ती कमजोरीलाई क्षमा माग्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाल इञ्जिनीयर एशोसिएशनका पूर्वअध्यक्ष ई हरेराम श्रेष्ठ, पत्रकार राजेन्द्र दाहाल, चार्टर एकाउण्टेन्ट दीपक पाण्डे लगायतले प्रजातान्त्रिक पार्टी काङ्ग्रेसले प्रजातान्त्रिक अभ्यास र संस्कारको विकास गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, शङ्कर भण्डारी, बहादुरसिंह तामाङ, सुरेन्द्र पाण्डे, पुष्पा भुसाल, अर्जुन जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, श्यामकुमार घिमिरे, किशोरसिंह राठौरलगायत युवा नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.