बन्दकर्ताले जलाए स्कुल बस, ठाउँ ठाउँमा बम फेला

फोटो सौजन्यः किरणमान बल

काठमाडौँ, २९ साउन : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ।

मकवानपुरको थाहा नगरपालिका ११ देउरालीमा एउटा स्कुल बस बन्दकर्ताले जलाएको खबर छ। पालुङबाट नौबिसे जाँदै गरेको नम्बर प्लेट नहालेको स्कुलबस बन्दकर्ताले पेट्रोल हालेर आगो लगाएका हुन्। मकवानपुर प्रहरी प्रमुख बुद्धि गुरुङका अनुसार बस पूर्ण रुपमा जलेको छ। बन्दका कारण यहाँ लामो रुटका गाडी चलेका छैनन् भने स्थानीय गाडी फाट्टफुट्ट चलिरहेका छन्।

यता चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

सूर्यविनायक र लोकन्थलीमा बिहानै फेला परेको प्रेसर ककुर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।

त्यस्तै, झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक पनि बम विष्फोट भएको छ ।

ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

जिल्लाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.