काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश

काठमाडौँ, ५ माघ : नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ ।
नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापति भूसाललाई स्वागत गर्नुभयो ।

भूसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति हुनुभएको थियो । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी अयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित हुुनुभएको थियो ।
नेकपा प्रवेश गर्दै भूसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्व सरकार सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।” उहाँले काँग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनी गोलबन्द हुन आग्रह गर्नुभयो ।
हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताउनुभएको छ ।
भूसाललाई पार्टीमा स्वागत गर्दै उहाँले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकले नयाँनयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ, भौतिक संरचना धमाधम बन्न थालेका छन् ।”
देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उहाँले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको सङ्कल्प भएको बताउनुभयो । सरकारले अग्रगामी नीति लिएको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ती परिणामले देखाएका छन्, झुठ्ठा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन, उपलब्धि थप बलियो बनेर आउँछ ।”
नेपाल सबैभन्दा तीव्र आर्थिक वृद्धिदर भएको मुलुकका रुपमा देखिन लागेकामा अचम्म नमान्न अनुरोध गर्दै प्रधानमन्त्रीले सरकार तीव्र आर्थिक विकास गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ । ८५० डलर प्राप्त गर्ने नागरिकले अब एक हजार डलर पाउन थालेका छन् । हामी आँकडामा खेल्ने होइन, परिणाम दिने गरी अघि बढेका छौँ । नेकपा आँकडामा परिवर्तन गर्ने पार्टी हो ।”
वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा कानून निर्माण तथा संरचनाको व्यवस्थापन गर्दा विकास निर्माणमा केही सुस्तता देखिएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकको विकासले गति लिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “विकास र समृद्धिले तीव्र गति लिन्छ, असाधारण तबरबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गरिन्छ । सरकार सुशासन र विकासमा केन्द्रित भएको छ ।”
पार्टी एकता भएको लामो समय बितिसक्दासमेत यसले पूर्णता नपाएको यथार्थ दुवै अध्यक्षले महसुस गरेको बताउँदै उहाँले अबको केही दिनभित्रै पार्टी एकताले अन्तिम रुप पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपाप्रति जनता, राजनीतिक कार्यकर्ता र सचेत नागरिकको विश्वास बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेकपाले देशलाई समृद्धिमा लैजान्छ, हामी कसैका विरुद्ध एक शब्द पनि बोल्दैनौँ, झुट बोल्दैनौँ, आरोप पनि लगाउँदैनौ र सही कुरा आवश्यक मात्रामा भन्छौँ । त्यसैले त नेकपाप्रति विश्वास बढ्दो छ ।”
नवप्रवेशीलाई पार्टीभित्र उचित जिम्मेवारी दिइने उल्लेख गर्दै उहाँले नयाँ सदस्य थपले नेकपा झन् एकताबद्ध भएको बताउनुभयो ।
