मंगलादेवीको योगदानको चर्चा
ललितपुर, २४ साउन : नेपाली काँग्रेसका नेताहरुले महिलाको राजनीतिक अधिकार स्थापित गर्नका लागि मंगलादेवी सिंहको अतुलनीय योगदान रहेको बताएका छन् ।
नेपाल महिला संघको ७१औँ स्थापना दिवस पारेर नेपाल महिला संघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले स्व सिंहको महिला अधिकारको आन्दोलनसँगै राजनीतिक अधिकारप्राप्तिका लागि गर्नुभएको योगदानको चर्चा गरेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले महिला नेत्री गुठकोभन्दा पनि पार्टीको हितका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गुठबन्दी अन्त्यका लागि महिला नेत्री सशक्त भएर लाग्न खाँचो छ ।” महिला नेत्रीहरुले विगतदेखि नै राजनीतिक परिवर्तनका लागि गरेको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।
उहाँले सरकारले स्वतन्त्र न्यायलयमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा संविधान र कानूनकोसमेत उपहास गरेको छ ।” उहाँले सरकारले मूल्यवृद्धि चर्काे बनाएकोसमेत आरोप लगाउनुभएको छ ।
संसदीय दलका सचेतक पुष्पा भुसालले विगतमा मंगलादेवी सिंह लगायतले योगदानकै कारण आज उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुकै कारण आज संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हो ।” उहाँले पार्टीभित्र र बाहिर महिला प्रतिनिधित्व बढाउनका लागि नियमित आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य गुरु घिमिरले नयाँ पुस्ताका महिला अझै सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले महिला जागरुक बनाउनका लागि महिला संघले गाउँगाउँसम्म कार्यक्रम लिएर जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।