सिक्लेसमा शान्ति स्मारकको अनावरण

कास्कीको मादी गाउँपालिका स्थित पर्यटकीगाउँ सिक्लेसमा निर्माण गरिएको शान्ति स्मारक अनावरण गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल । तस्वीर: हरि बास्तोला, पोखरा

पोखरा, २४,मङ्सिर : शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मादी गाउँपालिका–१ सिक्लेसमा आयोजित कार्यक्रममा स्मारकको अनावरण गर्नुभएको हो ।

तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष दाहालसँग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस आउनुभएको थियो ।

त्यसलगत्तै अध्यक्ष दाहाललगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएको थियो । त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ ।

दाहाल पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गरिएको हो । दुई रोपनी क्षेत्रफलमा फैलिएको स्तम्भसहितको स्मारक गाउँपालिका र स्थानीय जनसहभागिता परिचालन गरी रु १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

स्तम्भमा शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको कलाकार तथा मूर्तिकार नारदमुनि हार्तुमछालीले जानकारी दिनुभयो । स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सङ्ग्रहालयसमेत सञ्चालन गरिएको छ ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने बताउनुभयो ।

कास्कीको मादी गाउँपालिका स्थित पर्यटकीगाउँ सिक्लेसमा निर्माण गरिएको शान्ति स्मारक अनावरण कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला लगायत । तस्वीर: कृष्ण दवाडी, कास्की

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उहाँले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताउनुभयो । राजनीतिक परिर्वतनको लागि तत्कालीन सात राजनीतिक दल तथा विद्रोहीसमेत एक भएर सङ्घर्ष गर्दै संविधान निर्माण गर्न सफल भएको र अब आर्थिक समृद्धिका लागि पनि सबै पक्ष एकताबद्ध हुनुपर्ने खाँचो अध्यक्ष दाहालले औँल्याउनुभयो ।

समारोहमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्व गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको बताउनुभयो । काङ्ग्रेस पार्टी प्रतिपक्षमा भएपनि विकास र समृद्धिको यात्रामा सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले द्वन्द्वका पीडितलाई सरकारले न्याय दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सरकारले निजी क्षेत्रलाई पनि साथमै लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले ऐतिहासिक तथा पर्यटकीयस्थल सिक्लेसको सडक पूर्वाधार विकासमा जोड दिइनुपर्ने बताउनुभयो ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शान्ति प्रक्रियाको ऐतिहासिक महत्व स्मरण गराउने उद्देश्यले स्मारक निर्माण गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालद्वारा पुल शिलान्यास

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ लङ्काथर जोड्ने विजयपुर खोलामा निर्माणाधीन पुलको शिलान्यास गर्नुभएको छ । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको स्थान सिक्लेसमा निर्मित शान्ति स्तम्भ उद्घाटन गर्न जाने क्रममा आज उहाँले सो पुलको शिलान्यास गर्नुभएको हो ।

नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा महानगरपालिका वडा नं १३ र मादी गाउँपालिका ५ लङकाथर जोडने बिजयपुर खोलामा निर्माणाधिन मोटरेवल पुलको शिलन्यास गर्दै । तस्वीर: वासुदेव पौडेल, पोखरा

पुलको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्यटकीय गाउँ सिक्लेस जाने बाटो पक्की बनाउन आफूले पहल गर्ने बताउनुभयो । सिक्लेससम्म जाने बाटो अझै पनि कच्ची नै भएको बताउँदै उहाँले शान्ति सम्झौतासँग जोडिएको सिक्लेस जाने पक्की बाटो निर्माण सम्पन्न गर्न नैतिक र व्यवहारिक रुपमा आफू लाग्ने बताउनुभयो ।

काँहुखोला—दूधपोखरी ग्रामीण सडकअन्तर्गत विजयपुर खोलाको सिंढीको मुखमा निर्माणाधीन पुल ५४ दशमलब १७ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पुलको निर्माण २०७६ कात्तिक महीनाभित्र गरिसक्ने गरी सम्झौता भएको छ । पुल निर्माणको लागत रु पाँच करोड ६५ लाख एक हजार छ । पुलको ठेक्का रायमाझी काराभेन जेवी कन्ट्रक्सन काठमाडौँले लिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनीयर आशिक रिजालले जानकारी दिनुभयो ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले पुल निर्माणसँगै मादी गाउँपालिकाअन्तर्गत सिक्लेस, ताङ्तिङ, तपराङ, खिलाङ, थाक, छाचोक, थाम, लङ्काथर, काभ्रेडाडा मौजा र बयरघारीलगायत यस आसपासका तीन हजार घरपरिवारले सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता हुनु अगाडि दाहाललगायत तत्कालीन माओवादीका नेतालाई सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले हेलिकोप्टरमार्फत काठमाडौँ लैजानुभएको थियो । शान्ति प्रक्रियाको थालनीस्थल सिक्लेसमा निर्मित शान्ति स्तम्भको आजै अध्यक्ष प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.