विधानविपरीत गच्छदारलाई उपसभापति : नेता केसी

काठमाडौँ, ३० कात्तिक : नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा एक जना मात्र रहने व्यवस्थाविपरीत विजयकुमार गच्छदारलाई मनोनित गरेर उपसभापति बनाएको आरोप लगाउनुभएको छ ।

“गच्छदारलाई मनोनित गरेकामा म सहमत छु, तर मनोनित गर्ने प्रक्रिया गलत भयो” उहाँले भन्नुभयो, “विधान संशोधन गरेर मनोनित गरेको भए हुन्थ्यो ।”नेता केसीले भोलिबाट बस्ने केन्द्रीय कार्यसमितिको बैठकको कार्यसूचीबारे आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले आफूले बैठक बस्नुभन्दा अगाडि कार्यसूची सबै केन्द्रीय समितिलाई दिनुपर्ने भनेर पटकपटक भन्दा पनि नदिएको बताउनुभयो ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा केसीले भन्नुभयो, “भोली केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ, तर कार्यसूची के हो भनेर थाहा छैन” उहाँले भन्नुभयो, “कार्यसूची नै नभएपछि कसरी बैठकमा आफ्ना कुरा राख्ने ।” उहाँले विधानअनुसार पार्टीका सबै पदाधिकारी निर्वाचित हुनुपर्नेमा जोड दिँदै एक व्यक्ति एक पदको अवधारणाअनुसार पार्टी चल्नुपर्ने धारणा राख्नुभयो ।

पार्टी नेतामा नभई नीतिमा चल्नुपर्ने भन्दै व्यक्ति नभई सामूहिक नेतृत्व पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्ने उहाँको भनाइ थियो । नेता केसीले सरकार बनेको भर्खर नौ महीनामात्र भएकोले यो अग्निपरीक्षामा रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.