सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः अध्यक्ष दाहाल

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल नेकपा मोरङले विराटनगर–११ स्थित पाञ्चालीमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुँदै । साथमा पार्टी महासचिव विष्णु पौडेल । तस्बिरः मनोज दाहाल, विराटनगर

विराटनगर, १९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताउनुभएको छ ।

नेकपा मोरङद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वले सङ्घीयताको मर्म कर्मचारी संयन्त्रलाई बुझाउन नसकेकाले कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । ”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले मन्त्रीहरुले पनि कर्मचारीलाई परिवर्तनको मर्म बुझाउनेभन्दा उनीहरुबाटै प्रशिक्षित भएर यथास्थितिमा रमाउने खतरा देखिएकाले यसप्रति सचेत हुन आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको नयाँ ऐन बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले दीर्घकालीन महत्वका कामहरुलाई जोड दिँदा तात्कालिक काम ओझेलमा परेको स्वीकार गर्दै उहाँले अब सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सडकका खाल्डाखुल्डी पुर्नेदेखि सुकुम्वासी समस्याको समाधान र सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेतर्फ पनि सरकार अघि बढेको जानकारी दिनुभयो ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले जनताले देखेको विकास र समृद्धिकोे सपनालाई वर्तमान सरकार पूरा गर्न सफल हुने विश्वास व्यक्त गर्दै विकास निर्माणका कामलाई गति दिन, सबै प्रकारका विभेद्को अन्त्य र सामाजिक न्यायको सुनिश्चितता गर्नमा सरकार सफल हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.