धिमाल संगठनबीच एकता

उर्लाबारी, १६ कात्तिक : तत्कालीन नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक धिमाल सङ्घ र नेकपा माओवादी केन्द्र निकट धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालबीच एकता भएको छ ।

धिमाल जातीय विकास केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यको प्रमुख आतिथ्यतामा भएको एकता भेलाबाट पूर्वसांसदसमेत रहनुभएका पर्तमान धिमालको अध्यक्षतामा ५१ सदस्यीय नेपाल गणतान्त्रिक धिमाल सङ्घ गठन गरिएको छ ।

सङ्घको सहअध्यक्षमा गणेशमान धिमाल, उपाध्यक्षद्वयमा जीवनकुमार धिमाल र रत्नबहादुर धिमाल, महासचिवमा तारिलाल धिमाल, सचिवमा अम्बरबहादुर धिमाल तथा कोषाध्यक्षमा टेकमाया धिमाल रहनुभएको छ ।

सदस्यमा कविराज धिमाल, कमार धिमाल, शान्तिमाया धिमाल, भुवन कुमार धिमाललगायत छन् । प्रदेश इञ्चार्ज आचार्यले पार्टी एकता सबै तहमा अघि बढिसकेको उल्लेख गर्दै सबै जातजाति, दललगायत आम नेपालीबीचको एकता जरुरी रहेकोमा जोड दिनुभयो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जातजातिको सम्मान र संरक्षण गर्न बृहत् जातीय सङ्ग्रहालय स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी गराउनुभयो । एकता भेलामा पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश नं १ का सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडालगायतले केन्द्रदेखि वडासम्म पार्टीलाई मजबुद बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.