प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठकुरानीको योगदान महत्वपूर्ण

कालिका खड्का । काठमाडौँ, १२ कात्तिक : नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीले सामाजिक न्याय, समानता र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

नेपाली काङ्गे्रसकी नेत्री समेत रहनुभएकी ठकुरानी २०१६ साल जेठ १६ मा गठन भएको बिपी कोइरालाको मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्थानीय स्वायत्त सहायकमन्त्री हुनुभएको थियो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाले भन्नुभयो, “नेपाली महिला आन्दोलनका मात्र नभई सिङ्गो लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभएको ठकुरानीलाई काङ्ग्रेसले बिर्सिएकै हो, उहाँको स्मरण गर्न सक्नुपर्छ ।”

नेपालको निकै दुर्गम क्षेत्रबाट राजनीतिक जीवन शुरु गरेर लोकतान्त्रिक आन्दोलनलालाई अगुवाइ गर्नुभएकी नेतृ ठकुरानी नेपाल महिला सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएको संग्रौलाले बताउनुभयो । महिला सङ्घले उहाँको स्मृतिमा कृति निकाल्ने काम गरेको पनि उहाँले जानकारी दिनुभयो ।

“नेपालको परम्परागत कुरीति, कुसंस्कारप्रति विद्रोह गर्दै सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएकी नेत्री ठकुरानीलाई पार्टीले कुनै पनि हालतमा बिर्सनुहुँदैन”, नेपाल विद्यार्थी सङ्घका नेता मोतीलाल भण्डारीले भन्नुभयो, “सामाजिक न्याय, समानता र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उहाँले पु¥याउनुभएको उल्लेखनीय योगदानको पार्टीले स्मरण गर्नैपर्छ ।”

नेतृ ठकुरानी २००३ सालमा नेता बिपी कोइरालाबाट नेपाली काङ्ग्रेसको सदस्यता लिएर क्रियाशील रुपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०१५ को आमचुनावमा काङ्ग्रेसका तर्फबाट सुदूरपश्चिम क्षेत्र नम्बर ६६ बाट अत्यधिक मतले विजयी भएपछि ठकुरानी सहायकमन्त्री बन्नुभएको थियो ।

ठकुरानीले आफू मन्त्री हुँदा नेपाल परिवार नियोजन सङ्घको स्थापना गर्नुभएको थियो भने प्रसूति अस्पताल सञ्चालनका लागि पहल गर्नुभएको थियो । उहाँले महिला सशक्तीकरणका लागि महत्वपूर्ण काम पनि गर्नुभएको थियो ।

नेत्री ठकुरानीको १०४ औँ जन्मदिवसका उपलक्ष्यमा आज क्रियाशील पत्रकार महिलाले आयोजना गरेको अन्तरक्रियामा द्वारिकादेवी ठकुरानी स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रबहादुर चन्दले नेपाली राजनीतिको इतिहासलाई काङ्ग्रेसले बिर्सिएको प्रति गुनासो गर्नुभयो ।

वामदेव पन्त र राधिकाको सन्तानका रुपमा विसं १९७२ कात्तिक १२ गते डोटी जिल्लामा जन्मनुभएकी ठकुरानीले नेपाली काङ्ग्रेस र सामाजिक आन्दोलनमा बाँचुन्जेल योगदान गर्नुभएको थियो ।

डडेलधुरा चौकुने केश्वरपुरका उद्धवबहादुर चन्दसँग १९९२ सालमा विवाह गर्नुभएकी ठकुरानीे निडर र साहसी स्वभावको हुनुहुन्थ्यो ।

सुदूरपश्चिमाञ्चलमा कुनै विद्यालय नभएको अवस्थामा उहाँले २००४ सालमा मणिलेक माध्यमिक विद्यालय स्थापना गर्नुभएको थियो । विद्यालय स्थापना लागि उहाँले भारतबाट चन्दा संकलन गरेर ल्याउनुभएको थियो । शिक्षा र विकासप्रति देखाएको सक्रियताका कारण पछि उहाँलाई चुनाव जित्न निकै सहज भएको बताइएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालमा भएको आन्दोलनका क्रममा ठकुरानीले ४० दिन कारागार जीवन बिताउनुभएको थियो । सक्रिय राजनीतिमा रहेकी ठकुरानीलाई पार्टीले २०४८ सालमा टिकट दिएन । प्रतिष्ठानका अध्यक्ष चन्दका अनुसार पार्टी केन्द्रीय कमिटीको बैठकले २०१५ सालमा टिकट पाएका सबैले चुनाव लड्न टिकट पाउने निर्णय गरेको थियो तर ठकुरानीलाई टिकट दिइएन । ठकुरानीको २०५९ साल मङ्सिर २४ गते हृदयाघातबाट मृत्यु भएको थियो ।

निर्णय कार्यान्वयन भएन 

काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठकुरानीको योगदानको स्मरण गर्दै २०६६ सालमा द्वारिकादेवी ठकुरानी मेडिकल कलेज खोल्ने घोषणा गर्नुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री सुशील कोइराला हुँदा २०७२ साल असोज १४ गतेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम द्वारिकादेवी ठकुरानी मेडिकल कलेज राख्ने निर्णय ग¥यो तर त्यो पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

ठकुरानी प्रतिष्ठानको स्थापना 

नेत्री ठकुरानीको योगदानको स्मृतिमा २०६३ साल कात्तिक १२ गते भीमदत्तनगरमा द्वारिकादेवी ठकुरानी स्मृति प्रतिष्ठान स्थापना गरियो ।

अध्यक्ष चन्द ठकुरानीका भतिज हुनुहुन्छ । आगामी दिनमा प्रतिष्ठानले ठकुरानीका नाममा गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरिरहेको अध्यक्ष चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.