उपप्रधानमन्त्री पोखरेल चीनतर्फ

काठमाडौँ, ६ कात्तिक : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाई गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्नुहुने उहाँका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियल चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।

विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ । उपप्रधानमन्त्री पोखरेल आगामी मङ्गलबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.