नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं, ५ मंसिर : विवेकशील पार्टीको नामबाट गत पौषदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगको २०७८ कार्तिक २९ गते बसेको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता गर्ने निर्णय गरेको छ ।
पार्टीको अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ । यस पार्टीको राजनीतिक दर्शन रूपान्तरणकारी मार्ग (र्याडिकल सेन्ट्रीजम/radical centrism) हो भने सामाजिक दर्शन मानवता, समानता, स्वतन्त्रता र स्वाभिमान हुनेछ । आर्थिक दर्शनको रूपमा समन्वयनकारी पुँजीवाद (coordinated capitalism) रहनेछ । दलको राजनीतिक प्रस्थान विन्दु सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता हुनेछ भने दलका सदस्यहरूलाई व्यक्तिगत रुपमा बाटो देखाउने मूल्य मान्यताहरूमा निष्ठा, पारदर्शिता, साहस, समानुभूति, विनम्रता, उत्कृष्टता हुनेछन् र दललाई संस्थागत रुपमा चुस्त बनाउने मूल्य-मान्यताहरुमा जवाफदेहीता, कार्य कौशलता, ‘ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभाव’ विरुद्ध शून्य सहनशीलता, समावेशीता, सुयोग्यता, आन्तरिक सहभागितामूलक लोकतन्त्र रहने जनाइएको छ ।

दलका संघीय पदाधिकारीहरूमा कर्मा लामा तामाङ – अध्यक्ष, अजीता राई – उपाध्यक्ष, छिरीङ तामाङ – नीति, अनुसन्धान तथा विश्लेषण, संगीता बाटाजु -सचिव, प्रशिक्षण, शशि विक्रम कार्की – सचिव, अभियान र सञ्जाल, विजय बाबु शिवाकोटी -प्रवक्ता रहेका छन् । संघीय समितिका अन्य सदस्यहरूमा विशाल बिक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरन साह, सन्तोष घिमिरे, जमाल अली, मोहना मोथे खनाल, अन्जन निरौला, सुनीता बाटाजु, समिर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ रहेका छन् ।

विवेकशील आन्दोलनलाई जोगाएर समय सापेक्ष सुधार गर्दै अगाडि बढाउन यस दल प्रतिबद्ध रहेको छ । त्यसलाई हासिल गर्ने माध्यमको रूपमा २०७७ सालमा तत्कालीन विवेकशील नेपाली तथा साझा पार्टीबिच भएको एकीकरणमा सहभागी नभई छुट्टै रूपमा राजनीतिक तथा सांगठनिक गतिविधि गर्दै आएको थियो । पार्टीका राजनीतिक दस्ताबेज, विधानहरू चाँडै नै सार्वजनिक गरिने पार्टी प्रवक्ता विजय बाबु शिवाकोटीले जानकारी दिएकाछन ।