सौदाबाजी : अभियुक्त र अभियोजनकर्ताबीच समझदारी
काठमाडौँ, २२ असोज : फौजदारी कसुर नियन्त्रण गर्न नयाँ उपाय, विधि र औजारका रुपमा अभियोजनको सौदाबाजीलाई लिनुपर्नेमा जोड दिइएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको ‘सजाय कम गर्ने मागदाबी लिन सकिने व्यवस्थासम्बन्धी छलफल’ कार्यक्रममा सहभागीले फौजदारी न्याय प्रणालीमा मुद्धाको छिनोफानो अगावै अभियुक्त र अभियोजनकर्ताबीचको समझदारी नै सौदाबाजी भएको बताउनुभएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अपराध संहितामा व्यवस्था गरिएको कार्यविधिअनुसार अभियुक्तले अभियोजनकर्तासँग सजाय छुट गर्न सौदाबाजी गर्ने जानकारी दिनुभयो ।
नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले अभियोजनको सौदाबाजी : अवधारणा, अभ्यास तथा प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो, “अभियुक्तले आफूमाथि लगाएको कुनै वा सबै अभियोग स्वीकार गरेमा त्यसबापत निजले कुनै अभियोग वा कुनै सजाय छुट पाउन सक्दछ ।” नायब महान्यायाधिवक्ता किरण पौडेलले अभियुक्तका सन्दर्भमा अभियोग लिएर जाँदा छुटको दाबी कसरी गर्न सकिन्छ भन्ने बारे छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
