नेपाल र पोल्याण्डको सम्बन्धलाई जनस्तरसम्म पु¥याउन उपराष्ट्रपतिको जोड
काठमाडौँ, २२ असोज : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र पोल्याण्डबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार र प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । “पोल्याण्ड नेपालको असल मित्रराष्ट्र हो । नेपालले पोलिस सरकार र पोलिस जनतालाई महत्वपूर्ण सहयोगीका रुपमा लिँदै आएको छ”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्दछ ।”
उपराष्ट्रपति पुनसँग पोल्याण्डका गैरआवासीय राजदूत आदम बुराखोस्कीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उपराष्ट्रपतिले पोलिस जनता पर्वतारोहणमा धेरै रुचि राख्ने आफूले थाहा पाएको उल्लेख गर्नुहुँदै पर्वतारोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताउनुभएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
“मैले सुनेको छु, पोलिस जनता पर्वतारोहणमा धेरै रुचि राख्छन्, नेपाल त्यसका लागि आकर्षक गन्तव्य हो”, उहाँले भन्नुभयो, “पर्वतारोहणका लागि नेपाल आउँदा पोलिस जनताको रुचि पूरा हुनेछ भने नेपालको पर्यटन उद्योगमा सघाउ पनि पुग्नेछ । यसबाट दुई देशका जनता जनताबीचको सम्बन्ध पनि गहिरो हुन्छ ।”
उपराष्ट्रपतिले भेटमा भूकम्पका बेला गरेको सहयोग, नेपाली विद्यार्थीलाई दिइरहेको छात्रवृत्तिका लागि पोल्याण्डलाई धन्यवाद दिनुभयो । उहाँले पोल्याण्डको श्रम बजारमा नेपाली कामदार विभिन्न माध्यमबाट पुग्ने गरेको बताउनुहुँदै सरकारी प्रयासबाटै नेपाली श्रमशक्ति पोल्याण्ड लैजाँदा राम्रो हुने बताउनुभयो ।
उहाँले २०१८ को डिसेम्बरमा पोल्याण्डमा हुन लागेको वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलताका लागि शुभकामना दिनुभयो । उपराष्ट्रपतिले पोल्याण्डको १००औँ स्वतन्त्रता दिवसका अवसरमा पोल्याण्ड सरकार, पोलिस जनतालाई बधाई दिनुभयो ।
सो अवसरमा पोल्याण्डका गैरआवासीय राजदूत बुराखोस्कीले पोल्याण्ड र नेपालको सम्बन्ध सुममधुर रहेको बताउनुभयो । उहाँले विभिन्न माध्यामबाट दुई देशको सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै आइरहेको जानकारी दिनुभयो ।
भेटमा राजदूतले पर्वतारोहणका लागि पोल्याण्डका धेरै पर्यटक नेपाल आउने गरेको बताउनुभयो । “पोल्याण्डका जनता पर्वतारोहणमा रुचि राख्छन्, धेरै पोलिस पर्यटक नेपाल आउने गरेका छन्”, उहाँले भन्नुभयो, “मेरो विश्वास छ, आगामी दिनमा अझै धेरै पोलिस पर्यटक नेपाल आउनेछन् ।”