माघी पर्व आएसगैं सर्लाहीको लालबन्दी बजारमा बेच्न राखिएको तरुल
सर्लाही, २९ पुस : माघी पर्व आएसगैं सर्लाही जिल्लाको लालबन्दी बजारमा बेच्न राखिएको तरुल । कतिपयले जंगलमा पाउने वन तरुल पनि खनेर ल्याउने र तरकारी खाने गरेको पाइन्छ । व्यावसायिक रूपमा तरुलको उत्पादन भने सर्लाहीमा धेरै पाइन्छ । काठमाडौंमा अधिकांश तरुल सर्लाहीबाट आउने गर्छ ।
माघे संक्रान्तिमा खाइने घिउ, चाकु, खिचडी, तरुल जस्ता खाद्य पदार्थ शरीरका लागि निकै फाइदाजनक छन्। यस्ता खानेकुराले जाडो मौसममा हाम्रो शरीरलाई न्यानो प्रदान गर्छ। यी खानेकुरा चाडबाडमा मात्र होइन, अन्य समयमा पनि खानु आवश्यक छ। यस्ता खानेकुराबाट प्रशस्त मात्रमा क्यालोरी, मिनिरल, क्याल्सियम, फाइबर, भिटामिन प्राप्त गर्न सकिन्छ।
तरुल
माघे संक्रान्तिका दिन प्रसादका रुपमा ग्रहण गरिने तरुल लगायत कन्दमुल प्राचीन कालमा पूर्खाहरुले मुख्य खाद्य पदार्थका रुपमा खाने गर्थे। जाडो मौसममा तरुल निकै लाभदायक मानिन्छ। तरुल रेसादार खाद्य पदार्थ हो। यसबाट प्रशस्त मात्रमा फाइवर, प्रोटिन, मिनरलका साथै विभिन्न प्रकारका भिटामिन प्राप्त गर्न सकिन्छ। तरुललाई नियमित तरकारीको रुपमा प्रयोग गरेर कब्जियतबाट बच्न सकिन्छ। यसमा ग्लुकोजको मात्रा हुने हुँदा मधुमेहका बिरामीले अत्यधिक मात्रमा भने खानु हुँदैन।
संसारभर खपत हुने तरुलको उत्पादनमध्ये ७० प्रतिशत हिस्सा नाइजेरियाले ओगटेको छ । अफ्रिकामा तरुलको प्रयोग धेरै नै हुन्छ । एसियामा पनि यसको प्रयोग बढ्दो छ । युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशहरूमा प्रशाेधन गरिएको तरुलको धुलो धेरै प्रयोग हुने गर्छ । हाम्रो जस्तो न्यून आम्दानी हुने मुलुकमा त यस्ता खाद्य वस्तु उत्पादनमा विशेष जोड दिन जरुरी देखिन्छ ।
आयआर्जन बढाउन सकिने विकल्पको रूपमा यसलाई स्थानीय सरकारले निम्न वर्गका किसानहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । नयाँ प्रविधिको प्रयोग गर्दै भण्डारण गरेर राख्न मिल्ने, प्रशोधन गरेर बजारीकरणको प्रबन्ध मिलाइदिने हो भने खपत पनि बढ्दै जान्छ र आर्थिक क्षेत्रमा तरुलको पनि राम्रो योगदान हुन सक्ने देखिन्छ ।
घिउ–चाकु
माघे संक्रान्तिमा घिउ–चाकु महत्वपूर्ण खाद्य पदार्थमध्ये एक हो। जाडो मौसममा हाम्रो शरीरलाई क्यालोरीको आवश्यकता पर्छ। घिउबाट प्रशस्त मात्रामा क्यालोरी प्राप्त गर्न सकिन्छ। शुद्ध घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा यसमा हुने स्याचुरेटेड फ्याटी एसिडले शरीरमा बोसो जम्न दिँदैन। बरु शरीरलाई आवश्यक पर्ने चिल्लो प्रवाह गरी ऊर्जा प्राप्त गर्न मद्दत गर्छ। शुद्ध घिउबाट भिटामिन ‘ए’ प्राप्त गर्न सकिन्छ। दीर्घ रोगीहरु र पाचन प्रक्रिया कमजोर भएकाहरुले भने अत्यधिक मात्रमा घिउको प्रयोग गर्नु हुँदैन।
चाकु चिनीको कच्चा स्रोत हो। चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ। घिउ–चाकुले शरीरलाई न्यानो प्रदान गर्नुका साथै चिसोबाट लाग्ने रोगबाट बच्न मद्दत गर्छ। मधुमेह, मुटु, उच्च रक्तचापका बिरामी र मिर्गौलाका बिरामीले भने घिउ–चाकुको बढी प्रयोग गर्नु हुँदैन।
तिलको लड्डु
संक्रान्तिमा तिलको लड्डु पनि खाने चलन छ। तिलले शरीरलाई शक्ति प्रदान गर्छ जुन जाडो मौसममा अति स्वस्थकर मानिन्छ। तिलको लड्डुमा सोलिड फाइबर पाइने भएकोले पाचन प्रक्रियालाई पनि राम्रो गर्छ। तिलको लड्डुमा मल्टिभिटामिन हुने गर्छ। यसबाट आइरन र प्रोटिन पाउनुका साथै शरीरको तापक्रम वृद्धि गर्न मद्धत गर्छ।
खिचडी
मासको दाल, चामल, घिउ मिसाएर खिचडी बनाइने भएकोले यो खानेकुरा बच्चादेखि वृद्धवृद्धासम्मलाई निकै उपयोगी हुन्छ। खिचडी शरीरले छिट्टै पचाउन सक्ने खानेकुरा हो। सजिलै पचाउन सकिने भएकोले दैनिक रुपमा पनि बच्चा र वृद्धवृद्धाहरुलाई खुवाउन सकिन्छ। खिचडीबाट हामीले प्रशस्त मात्रमा मिनिरल, क्यालोरी, कार्बोहाइड्रेड र आइरन प्राप्त गर्न सकिन्छ ।