नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा
काठमाडौं, ११ माघ : नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा भएको छ । चीनको वुहानमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा गत वर्षको माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो ।
एक वर्षको अवधिमा नेपालमा दुई लाख ६९ हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय ९४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये दुई लाख ६३ हजार सात सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् भने उनीहरु मध्ये एक सय ४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि साउन छ गतेसम्म एक सय २० दिन देशव्यापी लकडाउन र त्यसपछि विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो ।
एक वर्षको अवधिमा सात हजार सात सय पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ । त्यस्तै ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।
