स्वदेश तथा विदेशमा ‘टोपी दिवस’ मनाउँदै

आशिष थापा । काठमाडौँ, १७ पुस : ‘राष्ट्रिय पोशाक दौरा सुरुवाल र नेपाली ढाका टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले आठौँ राष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन नेपाली युवायुवतीहरुले आज गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन ।

विशेषगरी युवायुवतीहरु माझ अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको हुँदा अभियानले २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
