बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

राँझा, २२ कात्तिक : बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको छ ।

सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारकोक्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

हालसम्म कोरोनाबाट ६३ को मृत्यु

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका—१५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आइसियूमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.