सुर्खेत बसपार्कमा पुनः विवाद
कर्णाली, २१ कात्तिक : निर्माण सम्पन्न भएको एक वर्षपछि सञ्चालन आउने तयारीमा रहेको सुर्खेत बसपार्कमा पुनः विवाद देखिएको छ । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि तयार पारिएका सटरको भाडादरको विषयलाई लिएर किचलो शुरु भएको हो ।
बसपार्क व्यवस्थापनको जिम्मा पाएको पिआर कन्ट्रक्सनले बजार दररेट भन्दा चौगुना महंगो भाडादर तोकेपछि व्यवसायीले विरोध गरेका हुन् । व्यवसायीले वीरेन्द्रनगर नगरपालिकासमक्ष तत्काल भाडादर सच्याउन माग गरेका छन् । पिआर कन्ट्रक्सनले प्रति सटर मासिक रु ३० हजारदेखि ५० हजारसम्म भाडादर तोकेको छ । बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि विपरित ठेकेदार कम्पनीले एकपक्षीय रुपमा भाडादर निर्धारण गरेको भन्दै टोल विकास समितिले उक्त भाडादर खारेजीको माग गरेको छ ।
व्यवसायीले मासिक रु. पाँच हजारदेखि १५ हजारसम्म भाडा दर तोकिनुपर्ने माग राखेका छन् । पिआर कन्ट्रक्सनले नगरपालिकालाई मासिक रु ३१ लाख १५ हजार भाडा तिर्ने गरी बसपार्क सञ्चालनको जिम्मेवारी पाएको थियो । बसपार्क टोल विकास समितिका अध्यक्ष इन्द्रबहादुर थापाले बजारमा प्रचलित मूल्यभन्दा चार गुना बढी महंगो भाडादर कायम गरिँदा विरोध गर्नुपर्ने बताउनुभयो ।
“चलनचल्तीको दरभन्दा चार गुना महँगो भाडादर तोकेपछि व्यापारी बस्न सक्ने अवस्था आउँदैन”, उहाँले भन्नुभयो, “तत्काल भाडादर हेरफेर नगरे बसपार्क सञ्चालनमा आउन दिँदैनौं, ठेकेदार र नगरपालिकाले हाम्रो माग सुनुवाइ नगरे अदालत जान बाध्य हुनेछौं ।” २.८ मिटर चौडाई तथा चार मिटर लम्बाई गरी ११ वर्गमिटर क्षेत्रफल भएका साना सटरको मासिक भाडादर रु ५० हजार तोकिनु आपत्तिजनक भएको उहाँको भनाइ छ ।
सुर्खेत वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले मनोमानी भाडादर तोकिनु उपभोक्ताको हितविपरीत भएको औंल्याउनुभयो । उहाँले टेण्डर रद्द गरी भाडादर नसच्याए कानूनी उपचारका लागि व्यवसायी अदालत जाने बताउनुभयो । नगर विकास कोषको ऋण सहयोगमा बनेको पक्की संरचनासहितको सिटी बसपार्कमा साना–ठूला गरी १२० बस अटाउने क्षमता छ ।
