घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा  

तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा आदिकवि भानुभक्त आचार्य र घाँसीको स्मृतिमा निर्माण गरिएको पार्क । पृथ्वी राजमार्गसँगै जोडिएको यस पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । तस्वीर : कृष्ण न्यौपाने

तनहुँ, १९ कात्तिक : नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ ।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व सङ्कटमा पर्ने भएको हो । जीवनभर घाँस काटेर कमाएको पैसाले केही नाउ रहोस् भनि त्यतिबेला घाँसीले उक्त स्थानमा कुवा निर्माण गर्नुभएको थियो । जुन अहिले पनि संरक्षणको अवस्थामा रहिआएको छ ।

सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर पूर्वमा घाँसीकुवा भन्ने स्थान पर्दछ । घाँसीको सम्मानमा उक्त स्थानलाई तत्कालीन घाँसीकुवा गाविस नामकरण गरिए पनि अहिले उक्त व्यास नगरपालिका–१२ मा पर्दछ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा रहेको भानुघाँसी पार्क । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको स्मृतिमा निर्माण गरिएको पार्क पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । तस्वीर: कृष्ण न्यौपाने

सडक विस्तारसँगै अहिलेको घाँसीकुवा र भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा यसको संरक्षणका लागि समयमै सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । हाल व्यास नगरपालिका–५ स्थित मानहुँ मामाघर पुगेर पैदल बाटो फर्कने क्रममा यही स्थानमा उहाँको घाँसीसँग जम्काभेट भएको भनाइ छ । घाँसीको प्रेरणाबाट उत्साहित भएका आदिकवि भानुभक्तले नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले घाँसी को थिए भन्ने पहिचान अझै खुल्न नसकेको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराईले बताउनुभयो । घाँसीकुवा रहेको भन्दा दुई सय मिटर दूरीमा पर्ने उत्तरतर्फ करिब एक रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क निर्माणको लागि दिने निर्णय गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न उचित देखिएको उहाँले बताउनुभयो ।

भानुभक्तले यस्तो कविता रचना गरेका थिए :

भर्जन्म घाँसतिर मन दिइ धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.