पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारवाही गर्न माग
काठमाडौँ, २६ भदौ : नेपाल पत्रकार महासङ्घले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न भई फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
सोही घटनामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई भने महासङ्घले सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । “पत्रकार हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीमाथि यथाशीघ्र कानूनी कारवाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग महासङ्घ जोडदार माग गर्दछ”, महासङ्घद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ ।
विसं २०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कार्तिक १८ गते बाराको डुमरवान–७ स्थित जङ्गलमा गाडिएको अवस्थामा शव फेला परेको थियो । १३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानूनी न्याय प्राप्त हुने र दण्डहिनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासङ्घको छ । महासङ्घले अभियुक्त पटेललाई कानूनले तोकेबमोजिमको पूरा सजाय दिनुपर्ने मागसमेत गरेको छ ।
सशस्त्र द्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ पत्रकारको हत्या भएको र चार पत्रकार बेपत्ता भएको महासङ्घको भनाइ छ । विज्ञप्तीमा भनिएको छ, “पत्रकारको हत्यामा संलग्नलाई अहिले पनि कानूनअनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चार क्षेत्रले न्यायको अनुभूति गर्न सकेको छैन, पत्रकार हत्यामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न र परिवारलाई न्याय दिलाउने कार्यमा महासङ्घ निरन्तर दबाब अभियानमा छ ।”
दिनेश सञ्चारगृहमा भएको घटनाप्रति भत्र्सना
नेपाल पत्रकार महासङ्ले समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनाप्रति भत्र्सना गरेको छ ।
“प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो, महासङ्घ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ ।
महासङ्घ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित समाचारलाई लिएर आज १५÷२० जनाको समूहले एक्कासि सञ्चारगृहभित्र प्रवेश गरी आक्रमण गर्दै उक्त समाचार डिलिट गर्न धम्क्याउँदै एफएमका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि हातपात र कुटपिट गरेको थियो ।
घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्नसमेत महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
