स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार होइन, सम्मान गर्न आग्रह
काठमाडौँ, ८ भदौँ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन तथा उनीप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न सबैलाई आग्रह गरिएको छ ।
“कानुनको दायराभन्दामाथि गई गरिने यस प्रकारका घटनाको छानबिन गरी दोषीउपर कानूनी कारवाही गर्नसमेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”
चितवनलगायत देशका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि छिमेकी तथा टोलबासीबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटना भइरहेको छ । आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवस्थामा अनुगमन गरिरहेको छ ।
सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सङ्क्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेरा हाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको आयोगले जनाएको छ । जनस्वास्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवाप्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष भएको जनाइएको छ ।
सबैको सम्मान गर्न बारको आग्रह
नेपाल बार एशोसिएशनले महामारीको समयमा अग्रपङ्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सङ्क्रमित बिरामीलगायत सबैप्रति सम्मान गर्न आग्रह गरेको छ ।
महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दिनरात नभनेर, भोकै, अनिदै सङ्क्रमण नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सङ्क्रमित बिरामीलगायत सबैप्रति आदरभाव राखी मनोबल उच्च गराउनेतर्फ अग्रसर हुन आग्रह गरिएको छ ।
बारले गलत अनूचित गतिविधिमा संलग्नउपर कारवाही गर्न र संविधानले प्रदान गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको निर्वाध प्रचलन गराउने व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । पछिल्ला केही हप्तामा नेपालमा कोभिड–१९ को सङ्क्रमणको संख्या बढ्दै गएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी आफ्नो घर, परिवार, भोक, चिन्ता सबै बिर्सेर आमनागरिकलाई कसरी जोगाउन सकिन्छ भनि पर्याप्त सुविधाको अभावमा पनि अहोरात्र कार्यक्षेत्रमा खटिइआएका छन् । उहाँहरुको कामप्रतिको समर्पण भाव र जिम्मेवारीप्रति बारले आभार व्यक्त गरेको छ ।
कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोही पनि पेशा व्यवसाय गर्ने व्क्ति अछुतो रहन सकेका छैनन् । सङ्क्रमणबाट बिरामी परेका र सङ्क्रमण मात्र देखिएका व्यक्तिको आत्मबल बढाउने खालका गतिविधि गर्नु सबैको कर्तव्य हुनुपर्नेमा कतिपय ठाउँमा सङ्क्रमण र सङ्क्रमणबाट निको भइसकेका व्यक्तिलाई समेत समाजले राम्रो व्यवहार नगरेको भनि पढ्न र देख्नुु दुखदायी कुरा भएको बारले जनाएको छ ।
अझ त्यसमा पनि हालै काठमाडौं, चितवन, मोरङ, संखुवासभा, जाजरकोटलगायतका जिल्लामा स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेशन वार्ड लगायतमा भएका असामाजिक, अभद्र व्यवहारबाट अत्यन्त लज्जा र पीडा बोध गराएको बारले जनाएको छ ।
