दुई एआइजीलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, १४ साउन : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका दुई प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति हुनुभएका निरजबहादुर शाही र पद्युम्नकुमार कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।
सोही कार्यक्रममा महानिरीक्षक क्षेत्रीले प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका पशुपतिकुमार राय र श्यामकुमार मण्डललाई पनि दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अधिकृतले आफ्नो दक्षताअनुरुप थप ऊर्जासहित व्यावसायिक सेवाको अपेक्षा प्रहरी सङ्गठनले गरेको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको बृहत्तर हितमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले सामूहिक नेतृत्व सधैँ सङ्गठनको हितमा लाभकारी हुने भन्दै प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिसँगै नेतृत्व तह थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नवनियुक्त एआइजी नीरजबहादुर शाहीले सङ्गठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्मनिष्ठ रही सङ्गठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।
एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ ।
