तीन सदस्यीय टोलीसहित कर्णालीका मुख्यमन्त्री चीन प्रस्थान
सुर्खेत, ३ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित चीन प्रस्थान गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले पहिलो पटक औपचारिक विदेश भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य धर्मराज रेग्मी र प्रदेश सरकारका विज्ञ प्रा डा पुण्यप्रसाद रेग्मीसहित उहाँ आज बिहान एयर चाइनाको विमानबाट चीन जानुभएको कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।
चीनको सिचुआन प्रान्तका गभर्नर यिङ् लीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जानुभएका मुख्यमन्त्रीले त्यहाँ हुने १७औँ ‘वेस्टर्न चाइना इन्टरनेशनल फेयर÷बेल्ट एण्ड डेभलपमेन्ट कन्फरेन्स’मा सहभागी हुने कार्यक्रम रहेको कार्यवाहक मुख्यमन्त्री भण्डारीले बताउनुभयो ।
मुख्यमन्त्री शाहीले रासससँग कुरागर्दै चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका निम्ति चीन सरकारको सहयोग आह्वान गर्ने बताउनुभयो । उहाँले भ्रमणका क्रममा कर्णाली प्रदेशको मुख्य सडक हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणार्थ चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाउनुभयो ।
छदिने चीन भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्विदेशीय सीमा नाका निर्माण, जलविद्युत् विकास, विमानस्थल तथा पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।