स्वतन्त्र र भयरहित निर्वाचनले मात्र लोकतन्त्रको विकासमा योगदान पुग्ने

काठमाडौँ, १ असोज : नेपालको संविधानले आत्मसात् गरेको समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो औँल्याइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा आयोजित अन्तरक्रियामा सहभागी वक्ताले विभिन्न समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।

‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : प्रतिनिधित्व प्रणालीको समीक्षा र भावी मार्गचित्र’ विषयको उक्त अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले परिवर्तनलाई स्थायित्व प्रदान गरी सही दिशातर्फ उन्मुख गराउने निर्वाचन नै एक मात्र माध्यम भएको धारणा व्यक्त गर्नुभयो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समानुपतिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर हुने स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनले मात्र लोकतन्त्रको विकासमा योगदान दिने भएकाले निर्वाचन प्रणालीलाई सुधार गर्दै लैजान सकिन्छ भन्नुभयो ।

नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले आवधिक निर्वाचन र लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गरेको मुलुकमा समेत निर्वाचनमा समावेशी र समानुपातिकको पाटाबाट सहभागिता र प्रतिनिधित्व कस्तो रह्यो भन्ने ढङ्गबाट मूल्याङकन गरिन्छ भन्नुभयो । सो अवसरमा सहभागी वक्ताले निर्वाचन प्रणाली सुधार गर्नुअघि राजनीतिक दललाई आफ्नो सङ्गठन समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

नियोकका अध्यक्ष सुर्य प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मा. लक्ष्मी चौधरी , मा. खेम लोहनी, नियोकका उपाध्यक्ष प्रा. कपिल श्रेष्ठ , बिदुर सुवेदी, मेनका श्रेष्ठ , राम कुमार कामत, चरण प्रसाई, हिरा बिश्वकर्मा , शान्ता श्रेष्ठ , सुरेश आचार्य र अन्य सहभागीहरुले आ-आफ्ना बिचार राख्नु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष तेज बहादुर सुनारले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.