जन्मस्थलमा प्रधानमन्त्री ओलीको ६९औँ जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमको आठराई गाउँपालिका ४ इवास्थित जन्मघरमा आइतबार आफ्नो ६९ औँ जन्मोत्सव मनाउँदै । तस्वीरः उमेश नेपाली

रवीन्द्र काफ्ले । यासोक, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो । आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताउनुभयो । “हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउनुभयो । “विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यिनै कुरामा हाम्रो ध्यान गएको छ ।”

प्रधानमन्त्री ओलीले यहाँ महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । “उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।”

कार्यक्रममा खानेपानीमन्त्री विना मगरले मुलुकभर खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै समृद्धिका लागि स्वच्छ खानेपानीको उपलब्धत गराउन सरकार प्रयत्नशील छ भन्नुभयो । “खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएका छौँ”, मन्त्री मगरले भन्नुभयो, “ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ ।” उहाँ खानेपानी आयोजनाहरुको विस्तार र सुधारमा समेत सरकारले सहयोग गर्ने बताउनुभयो । सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत धारणा राख्नुभएको थियो ।

यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना उद्घाटन    

प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण शुरु भई हालैदेखि सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । आज कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानीका मुहान सुक्दै गएपछि साबिक यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२/७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण शुरु भएको थियो । ती गाविसलाई सरकारले २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्याङ्क छ । कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याई खानेपानी वितरण शुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेशन (ट्याङ्की)को सहायताले डाँडासम्म पानी पु¥याइएको हो ।

प्रतिसेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की एक, पम्पिङ स्टेशन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एकएक, पानी ट्याङ्की ११ र चौकीदार घर १० निर्माण गरिएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिनुभयो । प्रसारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण भइसकेका थिए । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइपलाइन १९२.५१ किलोमिटर रहेको सचिव बेल्बासेले जानकारी दिनुभयो । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन् ।

आयोजना निर्माणपूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भएको हो । हालसम्म यहाँका दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घरपरिवारका खानेपानी पु¥याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कुम्मायक गाउँपालिकामा पर्ने साबिकका तीन गाविसलाई अँध्यारोमुक्त घोषणा गर्नुभयो । हाल कुम्मायक–१, ३, ४ र ५ मा पुनर्संरचित साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविस अँध्यारोमुक्त घोषणा भएका हुन् । चार वर्षअघिदेखि विद्युत् विस्तारको काम शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको हो । साबिक स्यावरुम्बा गाविसमा यहाँको स्यावरुम्बा विद्युत् सहकारी संस्थाको अगुवाइमा आठ सय घरमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युतीकरण सम्पन्न भएको हो । नेपाल सरकारको रु दुई करोड ३५ लाख ३२ हजार ७४६ तथा उपभोक्ताबाट सङ्कलित रु २६ लाख १४ हजार ७४९ को लागतमा यहाँ विद्युतीकरण पूरा भएको हो । यहाँ त्रिपुरेश्वर कन्डक्टर÷जयदुर्गे इन्जिनीयरिङ जेभी, काठमाडौँले विद्युतीकरण गरेको थियो ।

यस्तै यासोक र रानीगाउँमा फिदिम विद्युत् सहकारी संस्था लिमिटेडको अगुवाइमा रु सात करोड ९० लाख चार हजार २८० को लागतमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ उपभोक्ताले रु ७९ लाख ४२८ सङ्कलन गरेका थिए भने नेपाल सरकारको रु सात करोड ११ लाख तीन हजार ८५२ लगानी छ । यहाँ हालसम्म एक हजार ११५ घरमा विद्युतीकरण पूरा भएको सहकारी संस्थाले जनाएको छ । यहाँ वाइवा इन्फ्राटेक प्रालि, काठमाडौँले विद्युतीकरण गरेको थियो । निकै पिछडिएको यस क्षेत्रमा विद्युतीकरण सम्पन्न भएकामा उपभोक्ताले खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमको आठराई गाउँपालिका ४ इवास्थित जन्मघर । तस्वीरः उमेश नेपाली

मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

“पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पु¥याउने होला भन्ने त्यो चिन्ता थियो”, यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।” उहाँले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताउनुभयो ।

यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा सकारात्मक प्रधानमन्त्रीले भन्नुभयो, “देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।”

खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिनुभयो । “खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपथ्र्यो । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो । त्यो अब हटेको छ ।”

प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक/दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । “अब म सुझाव भन्न चाहन्छु, यो ठाउँ मान्छेले आराम, रमाइलो गर्ने, स्वच्छ वातावरणमा आउने, जैविक उत्पादन खान आउने, न्यानो आतिथ्यबाट लोभिएर आउने दिन बन्दैछ । त्यसैले राम्रा रेष्टुराँ, राम्रा लज खोल्नुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तीन वर्षभित्र तराईका मान्छे यहाँ आइपुग्छन् । गर्मीको बेला यहाँको लजमा बास बस्नु, त्योभन्दा आनन्द के होला ? उता हपहप गर्मी भएको हुन्छ, यहाँ आएपछि शीतल हावा, कञ्चनजङ्घा, कुम्भकर्णबाट बगेर आएको, फिल्टर गरिएको स्वच्छ पानी त्यो खान पाइने ठाउँ बन्छ यो ।” कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उहाँको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्नो एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुलाई नागरिकमाझ परिचय गराउनुभयो । आफूसँग आउनुभएका साथीहरुमध्ये केहीलाई चिनाउनु उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुबारे करीब पाँच मिनेट परिचयात्मक मन्तव्य व्यक्त गर्नुभयो । “म अचानक गम्भीर बिरामी परेको थिएँ । अचानक ठूलो शल्यक्रिया गरेर उपचार गर्नुपर्ने डाक्टर पनि यहाँ हुनुहुन्छ, डा रमेशसिंह भण्डारी । उहाँ पाँचथरकै पल्लो छेउ बैतडीको वासिन्दा हुनुहुन्छ ।” प्रधानमन्त्री ओलीले डा दिलीप शर्मालगायत चिकित्सकहरुलाई परिचय गराउँदा सहभागीहरुले तालीले स्वागत गरेका थिए । शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्नुभयो ।

जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीद्वारा कपडा र शैक्षिक सामग्री वितरण

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका–४ ईवामा रहेको जन्मघर आउनुभएका ओलीले आज नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गर्नुभयो ।

आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर आइपुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताउनुभयो । आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य कानूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि बढ्ने बताउनुभयो । “कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही घरमुनीको टार बारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो ।”

सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अभियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौषमी तरकारी, फलफल लगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आह्वान गर्नुभयो । स्कुसका लागि आफ्नो जन्म घरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश निर्यात गर्न आह्वान गर्नुभयो ।

बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बीर खिचाउनुभयो । बाल्यकालका केही दौँतरीसँग पनि उहाँले भलाकुसारी गर्न भ्याउनुभयो । ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाउनुभयो । पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाउनुभयो । प्रधानमन्त्री ओलीले सङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि आज नै उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.