मकवानपुरमा १४ हजार घर पुनःनिर्माण
हेटौँडा, ६ पुस : मकवानपुरमा भूकम्पबाट प्रभावित लाभग्राही ३४ हजार ३१९ मध्ये १४ हजार १३५ घर पुनःनिर्माण गरिएका छन् । आज हेटौँडामा पत्रकारसँग पुनःनिर्माण सम्बन्धी छलफल कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयले सो जानकारी दिएको हो ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख विमलकिशोर केपीले मकवानपुरमा ३४ हजार ३१९ पुनःनिर्माण लाभग्राही रहेका र सोमा प्रवलीकरण भएका १२ हजार ९४६ रहेका बताउनुभयो । उहाँले हालसम्म १४ हजार १३५ घर निर्माण भएका बताउनुभयो । सर्वेक्षण गरिएका ९० हजार ९९४ मध्ये पहिचान भएका पूर्ण क्षति लाभग्राही भने ३४ हजार ३१९ रहेका उहाँले जानकारी दिनुभयो ।
हालसम्म पहिलो किस्ता लिने २९ हजार ५०५, दोस्रो किस्ता लिने २३ हजार ४३१ र तेस्रो किस्ता लिने १८ हजार ४०३ रहेका छन् । एकाइ प्रमुख केपीका अनुसार प्राविधिक पुग्नुअघि बनेका घर २४२ रहेका र त्यसमा पछि पुन ः सर्वेक्षण गर्दा ५५ थपिने जनाएनुभयो । उहाँले जग्गा खरीद गरेका भूमिहीन लाभग्राही भने २९ रहेका बताउनुभयो ।
जिल्लामा विद्यालय निर्माणको क्षेत्रमा पनि उल्लेख्य प्रगती भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का प्रमुख बद्रिबहादुर पाठकले बताउनुभयो । भूकम्पले पूर्णरुपमा क्षति भएका विद्यालय भवन निर्माणको काम केही नगन्य मात्रमा भन्दा बाहेक सबैतिर द्रुतगतिमा निर्माण भएको उहाँको भनाइ छ ।
