न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षको कार्यकक्ष घेराउ
काठमाडौँ, २४ भदौ : नेपाल पत्रकार महासङ्घअन्तर्गतको श्रमजीवी हित प्रवद्र्धन समितिले श्रमजीवी पत्रकार, कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिश कार्यान्वयन गर्न माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ ।
महासङ्घका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्वघोषित कार्यक्रमअनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना तथा घेराउ गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी गराउनुभयो ।
समितिका अध्यक्ष पराजुलीले पारिश्रमिक सिफारिश कार्यान्वयन गर्न समिति दृढ भएको बताउनुभयो । उहाँले पारिश्रमिक वृद्धिका लागि गठित कार्यदलले आजै समितिलाई प्रतिवेदन बुझाएकाले सोमबार बस्ने समितिको पूर्ण बैठकले महासङ्घको माग सम्बोधन हुने गरी निर्णय गर्ने बताउनुभयो ।
उहाँले यसपटक सञ्चारमाध्यमलाई राष्ट्रिय, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरी त्यसभित्र पनि तीनवटा मापदण्ड बनाएर पारिश्रमिक वृद्धिको सिफारिश गरिने जानकारी दिनुभयो ।
संयोजक दाहालले असोज १ गतेदेखि नै लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक मासिक रु ४० हजार हुनुपर्ने, तहगत वर्गीकरणसमेत गरी सबै तहको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने, पाँच वर्षभन्दा बढी स्ट्रिन्जरका रुपमा नियमित काम गरेको राष्ट्रिय सञ्चारमाध्यमका श्रमजीवीलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनुपर्ने र महिना समाप्त भएको पहिलो हप्ताभित्रै बैंकिङ प्रणालीबाट तलबभत्ता भुक्तानीको व्यवस्था गर्नुपर्ने माग तत्काल पूरा गर्नुपर्ने बताउनुभयो ।
समितिका सहसंयोजक जन्मदेव जैसीले पारिश्रमिक निर्धारण समितिले पारिश्रमिक हुबहु कार्यान्वयन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । घेराउमा समितिका सहसंयोजक जैसी, सदस्यहरु यम विरही, टीकाराम प्रधान, टेकराज थामीलगायत रहनुभएको थियो ।