बाढीपहिरोबाट ३२ जनाको मृत्यु, १७ जना बेपत्ता


दाङको गडवा गाउँपालिका ५, बोधिपुरका ५० घर परिवार राप्ती नदीको डुवानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाँदै सुरक्षाकर्मी । तस्बिरः रीता लामा

काठमाडौँ, २८ असार : अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा पाँच तथा काठमाडौँ, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन÷तीन जनाको मृत्यु भएको छ ।

यस्तै धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएको थापाले जानकारी दिनुभयो ।

महोत्तरीमा ५००, रौतहटमा २००, सिन्धुलीमा ७०, काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जनाको उद्धार गरिएको छ । मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाडौँ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक÷एक जना बेपत्ता भएको थापाले बताउनुभयो ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.