तीन दिनसम्म देशैभर वर्षा हुने, पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

सिवी अधिकारी । काठमाडौँ, २७ असार : मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो ।
आज बिहानैदेखि मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ ।
पूर्वी र मध्यमा एक÷दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ । मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ ।
यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ ।
देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
त्यसैगरी भोलि शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनन अनुरोध गरिएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ५१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी सिमरामा २०६, विराटनगरमा १७२, ओखलढुङ्गामा १०७, धनकुटामा १०३ मिलिमिटर वर्षा भएको छ । डडेलधुरामा २७, भैरहवामा २४, नेपालगञ्जमा १२ र धनगढीमा १५ मिलिमिटर वर्षा भएको छ ।
नदी तटीय क्षेत्रमा उच्च खतरा
निरन्तरको वर्षाले देशका मुख्य नदी तटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, बढी पूर्वानुमान महाशाखाले आज बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।
आज बागमती नदीको तराई क्षेत्रमा बहाव खतरा माथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तह नजीक पुगेको छ । कोशी नदीमा बहाव सतर्कता तह नजीक पुगेको छ । प्रदेश नं १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि र उच्च खतरा रहेको तथा भोलीसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ ।
विपद्बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’
मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।
विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ । भइपरि आउने घटनाको क्षति न्यूनीकरण, राहत र उद्धारका लागि सबै निकायको ध्यान केन्द्रीत भएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गरी विपद्को प्रतिकार्य योजना बनाएर लागू गरिएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै जाँदा सम्भावित घटनाबाट क्षति कम गर्न मातहतका निकाय, तीनै तहका सरकार तथा सम्बद्ध अन्य सङ्घसंस्था उच्च तयारीमा जुटेको छ । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लागू गरी पूर्ण तयारी गरिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उक्त योजनाभित्र पूर्व सूचनादेखि आपत्कालीन आश्रयस्थल व्यवस्थापनसम्मका कार्ययोजना समावेश छ ।
हरेक क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आआफ्नो उद्धार टोली तयारी अवस्थामा राखेका छन् । नेपाली सेनाले काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसहित उद्धार टोली राखेको खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद्मा हुने सम्भावित घटनाको उद्धार र राहतका लागि सबै तयारी भएको छ, प्रदेश, जिल्ला र स्थानीय तह पनि तयारी अवस्थामा छन्, समग्रमा भन्दा सरकार ‘हाइ अलर्टमा छ’ ।”
हालै लागू भएको प्रतिकार्य योजना २०७६ अनुसार खोज, उद्धार र तत्काल राहतका कामहरु गृहमन्त्रालयबाट हुन्छ । अन्य काममा गृहमन्त्रालय स्थानीय तहको सहयोगीको भूमिकामा रहन्छ । जोखिम न्यूनीकरणमा समन्वय, पुनःलाभमा नेतृत्व र राहत निर्माणमा सहयोगी भूमिका गृहमन्त्रालयको रहेको छ । नेपालको संविधान २०७२ ले विपद्मा स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाएको छ । संविधानको अनुसूची ८ मा विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
मौसम सूचना प्रणाली प्रभावकारी
मौसम तथा नदीमा बाढी सतहको पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभाग र बाढी महाशाखाले सूचना र प्रविधिको प्रयोग गर्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार हाल नेपालमा तीन दिनसम्मको मौसमको जानकारी दिन सकिने अवस्था रहेको केही महीनाभित्रमै मौसमको कुनै खतरा हुने वित्तीकै मोबाइलमा सन्देश पठाउन सक्ने गरी प्रविधिको विकास गर्न लागिएको छ । यसले अझै मौसमको जानकारी थप प्रभावकारी हुने श्रेष्ठले बताउनुभयो ।
गृहमन्त्रालयका अनुसार विभागले नदीको जलाधारक्षेत्र मध्य २४४ जोखिम क्षेत्र पहिचान गरेको छ । त्यमध्ये मुख्य नदीमा हुने बाढीको पूर्वसूचना दिने गरिएको छ । पूर्वसूचनाका लागि एसएमएस प्रणालीदेखि वेबसाइटबाट जानकारी दिने तथा खतरा र चेतावनीको सूचनाका लागि साइरन बजाउनेसम्मका काम भैरहेको छ ।
आज देशका अधिकांश क्षेत्रमा बदली हुने र धेरै स्थानमा वर्षा हुने विभागको सूचना प्रणालीमा उल्लेख छ । खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानमा भारी र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा अति भारी वर्षा हुने र केही स्थानमा हावाहुरीको सम्भावना छ । राती पनि मौसम बदली भई धेरै स्थानमा वर्षा हुने छ । तीन दिनसम्मै यो क्रम जारी रहने विभागले जनाएको छ ।
यस्तो छ मन्त्रालयका तयारी
विभिन मन्त्रालयले समेत विपद् जोखिम कम गर्न आवश्यक तयारी गरेको छ । आफ्नो मातहतका निकायलाई उच्च सतर्कता अपनाउन लगाउनेदेखि उचित समन्वयका लागि तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको मनसुन आपत्कालीन कार्ययोजना २०७६ मा ती मन्त्रालयले उल्लेख गरेको छ । जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुनमा हुनसक्ने जोखिम कम गर्न स्थानीय तहलाईसमेत उच्च सतर्कताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । पूर्वसूचना प्रणालीलाई चुस्त राख्ने, स्थानीय क्षेत्रमा क्रियाशील विकास साझेदार संस्थासँग समन्वय गरी खाद्यान्न, राहत सामग्री औषधोपचारका लागि तयारी गरेको जनाएको छ ।
परराष्ट्र मन्त्रालय नदी खोला पन्छाउने तथा आपत्कालीन अवस्थामा मित्रराष्ट्रको सहयोग लिने गरी समन्वयको तयारी अबस्थामा रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालयबाट प्राप्त सूचनाको आधारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन कार्यलाई प्रभावकारी बनाई सार्वजनिक संस्थानलाई थप सक्रिय बनाउने, अत्यावश्यक वस्तुको मौज्दात र आपूर्ति व्यवस्थापनमा सहज पार्ने काममा सक्रिय रहेको कार्ययोजनामा जनाइएको छ ।
शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागले सुरक्षित स्थानको व्यवस्थापन गरी आवश्यक समन्वयको काम गर्ने कार्ययोजनामा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग फैलन नदिन प्रकोप नियन्त्रण, चिकित्सक परिचालन गर्नेदेखि औषधोपचारमा क्रियाशील हुने छ । कृषि तथा पशुपक्षी विकास मन्त्रायलले कृषि तथा पशुपक्षी क्षेत्रको जोखिम कम गर्ने एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला बालबालिका र जेष्ठ नागरिकको उचित व्यवस्थापनमा सक्रिय हुने गरी कार्ययोजना पेश गरेको छ ।
सुरक्षाकर्मी पूर्ण तयारीमा
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विपद् जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि आवश्यक तयारीमा बसेको छ ।
विपद्को छोटो समयमा प्रभावकारी रुपमा परिचालन हुने गरी विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत नेपाली सेनाले १ नं विपद् व्यवस्थापन गणलाई काठमाडौँ र पूर्वतर्फको प्रदेश हेर्ने तथा २ नं गणलाई चितवन तथा पश्चिमतर्फको प्रदेश हेर्ने गरी तालीमप्राप्त उद्धारकर्ता तयारी अवस्थामा राखिएको छ । जसका लागि सेनाले आकस्मिक उद्धार टोली ५६१ जनशक्ति तयारी गरेको छ । अन्य एक हजार ७८२ जनशक्ति तयारी अवस्थामा छन् भने हरेक क्षेत्रबाट आवश्यकताअनुसार टोली खटिन सक्ने नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । गण भएको जिल्लामा १०४ र गुल्ममा ३० जना तैनाथ हुन्छन् । नपुग भए माथिल्लो तहबाट थप हुन्छ ।
मनसुनको समयमा बाढी पहिरोबाट हुने राजमार्गको क्षति उद्धार, राहत तथा सडक सञ्चालनका लागि एक्रोज ब्रिज र डुङ्गासहित आवश्यक जनशक्ति तयार पारेको छ । काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसमेत तयारीमा राखेको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारका लागि दुई हजारभन्दा बढी दक्ष जनशक्ति तयार पारेको प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका आठ बाहिनीमा ५० जनाको दरले विपद् उद्धार समुह तयारी अवस्थामा छ । हरेक गणमा ३५ र गुल्म १० जना छन् भने आवश्यक जनशक्तिसहित १९ जना गोताखोरलाई कुरिनटार, काठमाडाँै, पोखरा र सुनसरीमा खटाइएको श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक उद्धार उपकरणको समेत व्यवस्था गरिएको छ ।
नेपाल प्रहरीले सातै प्रदेशसम्बन्धी प्रहरी युनिटबाट आवश्यक तयारी गरेको छ । आवश्यकतानुसार विपद् व्यवस्थापन महाशाखा तथा प्रदेशअन्तर्गतको व्यवस्थापन गुल्मबाट दक्ष जनशक्ति खटिने जनाइएको छ ।
प्रहरीले केन्द्रमा खोज उद्धारका लागि ३० ‘क्विक रेस्पोन्स टिम’ तयार गरेएको छ । डुङ्गा चलाउन सक्ने १६, पौडिन सक्ने २८ तथा आवश्यक मात्रामा जनशक्ति थप्नसक्ने गरी तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय र सातै प्रदेशमा गरी कूल ५०० दक्ष प्रहरी जनशक्ति तयार गरिएको छ । आवश्यकता अनुसार प्रहरी अरु थप परिचालन हुनेछ ।