सुदुरपश्चिममा आँधीबेहरीबाट दर्जनौँ बिचल्ली 

बिहीबार राति आएको हावाहुरीले कञ्चनपुरको भीमदत्तनगरपालिका १८ सालघारीस्थित स्थानीयको टहरामा रुख ढल्दा पुगेको क्षति । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर

धनगढी, २४ जेठ : गएराति आएको आँधीबेहरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ । आँधीबेहरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो ।

जिल्लामा मुक्त कमैया, गरीब र विपन्न सयौँ परिवारको घरको छाना उडाइ क्षति पु¥याएको अनुमान गरिएको छ । यद्यपि यसको एकीन विवरण अहिलेसम्म आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–१ का दिलबहादुर शाहीले घरको छाना उडाइ घरमा रहेको खाद्यान्न पानीले भिजाएर नष्ट भएपछि आफू बिचल्लीमा परेको गुनासो गर्नुभयो ।

बिहीबार साँझ आएको हावाहुरीले कञ्चनपुरको भीमदत्तनगरपालिका १८ सालघारीस्थित क्षति पुगेको टहरा । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर

आँधीबेहरीका कारण कैलालीको टीकापुरका लाहनु चौधरीको पोल्टी फर्म भत्किँदा च्यापिएर मृत्यु भएको छ । यस्तै गोदावरी नगरपालिमा आँधीका समयमा टिपरसँग मोटरसाइकल ठोक्किँदा से१प ५८५१ नं को मोटरसाइकल चालक वीरबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आँधीबेहरीका कारण ७६ जना घाइते भएकोमा ६६ जना सामान्य घाइते भएका छन् । घाइतेको सेती अञ्चल अस्पतलाका साथेै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गम्भीर घाइते चार जनालाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा अर्जुन नेपालीको हावाहुरीले छाना उडाएको घर । हावाहुरीले घरको छानासँगैे खाद्यान्न र लत्ताकपडा उडाएपछि नेपालीको परिवारमा विजोग भएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

क्षतिको पूर्ण र एकीन विवरण आउन अझै समय लाग्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको बैठकले आँधीबेहरीको कारण पीडित भएकाको लगत सङ्कलन गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

लगत सङ्कलनका लागि वडा अध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ । धनगढी उपमहानगरपालिका कार्यालयमा आज बिहान बसेको बैठकमा आँधीका कारण पीडित बनेकालाई खाद्यान्न वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.