प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण नेपालको हितमा रहेको कूटनीतिज्ञको भनाई
काठमाडौंँ, २४ वैशाख : राजनीतिक विश्लेषक तथा कूटनीतिक क्षेत्रका जानकारले बुद्धजयन्तीको अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलन तथा कम्बोडियाको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट मुलुकहरुबीचको हितमा रहेको बताउनुभएको छ ।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा राजन भट्टराईले यही वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल हुने जिकिर गर्नुभयो । डा भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताउनुभयो । उहाँले दक्षिण पूर्वी एशियाको उदाउँदो राष्ट्र भियतनामको भ्रमणबाट हामीले लाभ लिन सक्ने उल्लेख गर्नुभयो । नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा पनि कुराकानी हुने जानकारी दिँदै उहाँले दुई मुलुकबीच सांस्कृतिक आदान–प्रदान हुने बताउनुभयो ।
डा भट्टराईले बहुसङ्ख्यक भियतनामी जनता बुद्ध धर्म मान्ने भएकाले गौतमबुद्धको जन्मस्थल लुुम्बिनीमा भियतनामी बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भियतनाममा यही वैशाख २९ गते वैशाख दिवस मनाउने उक्त दिन अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकाले त्यसमा नेपालका प्रधानमन्त्री ओलीले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।
उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति तथा मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्ति आउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उहाँले बताउनुभयो । “कम्बोडियासँग द्विपक्षीय व्यापार लगानीको सम्भाव्यताबारे खोजी गरिनेछ”, भट्टराईले थप्नुभयो ।
पूर्वराजदूत डा शम्भुराम सिम्खडाले प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण ती मुलुकबीच संस्कृति तथा कूटनीतिक विस्तार गर्न अर्थपूर्ण रहेको बताउनुभयो । सिम्खडाले भियतनाम र कम्बोडिया दुवै उच्चस्तरको आर्थिक वृद्धि दर हासिल गरेका मुलुक भएकाले नेपालले ती मुलुकबाट लाभ लिनुपर्ने बताउनुभयो । बुद्धजयन्तीका अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र उहाँको सम्बोधन गर्ने कुरा राम्रो पक्ष भएको बताउनुभयो तर ओली भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमा आमसहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दुवै देशसँग नेपालको ऐतिहासिक तथा पुरानो सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । बुद्धजयन्तीका अवसर पारेर वैशाख डेमा प्रधानमन्त्रीले मुख्य वक्ताका रुपमा बोल्ने कार्यक्रम रहेकाले उक्त सम्मेलनमार्फत ग्लोबल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न पनि ‘माइल–स्टोन’ हुने श्रेष्ठको भनाइ थियो । श्रेष्ठले भियतनामले वाटरवेज र रेलवेजमा धेरै ठूलो विकास गरेको बताउँदै प्रधानमन्त्रीको यो भ्रमणले दुवै मुलुकसँग नयाँनयाँ सम्भावनाको द्वार खोल्ने अवसर प्राप्त हुने धारणा व्यक्त गर्नुभयो ।
सम्मेलनमा विभिन्न देशका उच्चपदस्थ व्यक्तिलगायत तथा नेपालसहित विश्वका विभिन्न मुलुकका बौद्ध भिक्षुहरु ठूलो सङ्ख्यामा आउने कार्यक्रम छ । सन् १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । असंलग्न मुलुक कम्बोडिया नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक हो । भियतनाम महायान् बौद्धधर्मका अनुयायीहरुको तथा कम्बोडिया थेरवाद बुद्धधर्मका अनुयायीको बाहुल्य भएका मुलुक हुन् । भियतनाम होचिमिन्हको पालादेखि नै नेपाली जनताको सम्बन्ध भएको मुलुक हो । भियतनाम तथा कम्बोडियाको लामो सङ्घर्षको इतिहास जोडिएको छ । संयुक्त राष्ट्र सङ्घले वैशाख दिवस मनाउने घोषणा गरेअनुरुप भियतनाममा यस वर्ष वैशाख डे सम्मेलन हुन लागेको हो ।
