कञ्चनपुरमा कफ्र्यु

भीमदत्तनगर, ७ भदौ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफ्र्यु आदेश जारी गरेको छ ।

जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कफ्र्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कफ्र्यु जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन जारी नै राखिएको छ ।

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

सांसद दीपकप्रकाश भट्टले कञ्चनपुरमा भएको बलात्कारमा संलग्न दोषीलाई छानबिनका आधारमा दोषी ठह¥याउनुपर्नेमा आन्दोलनको भरमा दोषी खडा गर्ने प्रयास भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो ।

झडप हुँदा प्रहरीसहित आठ घाइते

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् ।

यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
 
घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते हुनुभएको छ । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
 
भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले झडपमा घाइते भएको बारे जानकारी लिइरहेको बताउनुभयो ।
 
घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ । उहाँले आजैदेखि घटनाको छानबिन थाल्नुभएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.