नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन मंगलबार नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानी सहमतिपत्र आदानप्रदान गर्दै । तस्वीरः दीपेन्द्र अधिकारी, कतार

दीपेन्द्र अधिकारी । कतार, १३, कार्तिक : नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ। सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नु भएको छ।

त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गर्नु भएको छ।

परराष्ट्र मन्त्री ज्ञवालीले उक्त सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वाश व्यक्त गर्नु भएको छ ।

कतारले नेपालमा सीपविकास कार्यालय खोल्ने

नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ।

उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनौट, स्वास्थ्य परीक्षण र वीमा लगायत एकीकृत सेवा प्रदान गरिने छ।

कतारको भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इशा बिन साद अल जफाली अल नुआइमी बीच यस विषयमा छलफल भएको छ। कतारमा ठूलो संख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताउनु भएको छ।

मन्त्री ज्ञवालीका अनुसार आजै नेपाल र कतारका राष्ट्राध्यक्षहरूको बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमा समेत सकारात्मक छलफल भएको छ जसले गर्दा नेपाली श्रमिकका समस्या छिटै समाधान हुनेछन्।

हाल कतारमा ४ लाख भन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.