मौसममा सामान्य बदली, पहाडमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौँ १५ पुस : हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
बिहीबारदेखि मौसम क्रमिकरुपमा सुधार हुँदै जाने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । तत्कालै नयाँ मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेकाले पनि आगामी दिनमा मौसम सुधार हुने उनको भनाइ छ ।
महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ६ र अधिकतम तापक्रम ८ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौँमा ३५ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ४१, पोखरामा ३१ र घोराहीमा ३१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।