जाजरकोट–डोल्पा सडकखण्डको स्थलगत अनुगमन
त्रिपुराकोट, २१ असोज : हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एक मात्र सडकका रुपमा रहेको जाजरकोट–डोल्पा सडकखण्डको स्थलगत अनुगमन गरिएको छ ।
काठमाडाँैबाट सेनाको हेलिकप्टरबाट डोल्पा पुगेकाका महालेखा परीक्षक कार्यालयका प्रमुख दामोदर पुडासैनी, रक्षामन्त्रीका निजी सचिवालयका प्रभातविक्रम कटवाल, रक्षा मन्त्रालयका सहसचिव तुलसीराम सेडाईं, अर्थ मन्त्रालयका उपसचिव तीर्थराज सिलवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्र शर्मा, सोही मन्त्रालयका सहसचिव हरि बस्याल, सडक विभागका सहसचिव मुक्ति गौतम, सहसचिव अर्जुनजङ्ग थापा, नेपाली सेनाका विकास निर्माण निर्देशनालयका सहायक रथी रामधर सिंहसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गतको खदाङ त्रिपुराकोटखण्डको स्थलगत अनुगमन गरेको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । थुप्रै भौगोलिक कठिनाइबीच पनि आँखा घुमाउने भिर खोपेर सडक निर्माण गरेको भन्दै अनुगमन टोलीले सडक निर्माणको जिम्मा लिएको सेनाको प्रशंसा गरेको थियो ।
डोल्पाको जोड्ने सडक पूर्णरुपमा ट्र्याक खुलिसकेकाले जाजरकोटदेखि डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउनका लागि सडकका बीचमा पर्ने खोलामा पुल निर्माणमा जोड दिइने अनुगमन टोलीले जनाएको छ । कूल लम्बाइ ११७ दशमलब सात किलोमिटर रहेको जाजरकोट–डोल्पा सडकखण्डको एक साताअगाडि मात्रै अन्तिम भिरका रुपमा रहको तरपरेभिरको निर्माण कार्य पूरा गरेर डोल्पा दुनैसम्म पूर्णरुपमा ट्र्याक खुलाइएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङसम्म ८७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न गरेर जिप, ट्र्याक्टरलगायत यातायात सञ्चालन भइसकेको कर्णेल पहाडीले बताउनुभयो । जाजरकोट–डोल्पा सडकखण्डको पूर्णरुपमा ट्र्याक खुलिसकेकाले तिहारभित्रै औपचारिक उद्घाटन गर्ने तयारीमा जुटिरहको पहाडीको भनाइ छ । काठमाडौँबाट आएको जम्भु अनुगमन टोलीले आजै कर्णाली करिडोर, फुलालु–लैभु सडकखण्ड सिमीकोटमा पनि अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सडक अनुगमनका क्रममा डोल्पा पुगेको टोलीले सदरमुकाम दुनैमा सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट, हेलिकोप्टरबाटै नेपालकै गहिरो शे–फोक्सुण्डो तालको अवलोकन गर्नाका साथै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा सामूहिक पूजापाठसमेत गरेको थियो ।