राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान   

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गर्दै । तस्वीर: चन्द्रकला क्षेत्री

काठमाडौँ, २० कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा रहिआएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानपछि । तस्वीर: चन्द्रकला क्षेत्री

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित हुनुहुन्थ्यो । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा चार सदस्यीय भ्रमण दलका साथ भारतीय सेनाध्यक्ष नरवणे बुधवार यहाँ आउनुभएको थियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा दुई देशबीच उत्पन्न असहज परिस्थितिको सुधारका लागि उहाँको भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ । नेपाली सेनाले उहाँको भ्रमणलाई दुवै सेनाबीचको परम्परागत सम्बन्धको निरन्तरताका रुपमा लिइएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाध्यक्ष नरवणेले शुक्रबार शिष्टाचार भेट गर्नुहुनेछ । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष नरवणे शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.