शङ्खधर साख्वा :न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री
काठमाडौँ,२२ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताउनुभएको छ ।
नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उहाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ ।
नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ, ”प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।
साथै उहाँले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवत्ले हामीलाई झक्झक्याउदै आएको बताउनुभएको छ ।
शङ्खधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल हुनुभएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
“काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवत्का प्रवर्तक,समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु”प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।
