प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस
काठमाडौं, ३ भदौ : सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले यही भदौ ७ गते पर्ने गाईजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै बैठकले यही भदौ १४ गते कृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
सरकारले काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।
बैठकले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।