एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं, १८ जेठ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको ती मन्त्रीले बताए ।

कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रस्तावअनुसार यो निर्णय गरिएको हो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो । यस वर्षको एसइई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन

गत वर्ष परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरिएको थियो ।

गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोर्‍याएर अभ्यास गर्न त टाढाकै कुरा, कोर्स नै पूरा हुन सकेको छैन ।

गत वर्ष एसइईमा आन्तरिक मूल्यांकनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो ।

कार्यविधिअनुसार गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्म निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा पठाएको नतिजा प्रमाणीकरण गरेको थियो ।

कार्यविधि अनुसार मूल्यांकन समितिले बोर्डले तोकेअनुरुप विद्यार्थीको प्राप्तांक शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.