माधव नेपालहरूले अन्तर्घात गरेर एमालेलाई कमजोर बनाए : प्रधानमन्त्री ओली
काठमाडौं, १७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताएका हुन् ।
“उहाँहरू यति निर्लज्ज तरिकाले प्रस्तुत हुनुभयो । लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस्तो हुँदैन । छातीका टाँक खोलेर राष्ट्रपति कार्यालय, अदालतमा प्रस्तुत भए” उनले भने, “विधि, पद्धति, प्रक्रिया भन्ने यसरी विश्वासघाती, आत्मघाती तरिकाले प्रस्तुत भए । आफूलाई लोकतन्त्रवादी भन्ने अस्वस्थताका वैशाखी टेकेर हिँड्ने !”
उनले विपक्षी गठबन्धनसँग जम्मा १ सय १० मत भएको र बहुमत नपुग्ने जिकिर गरे ।
“यस्ता अन्तर्घातीको वैशाखी टेकेर हिँडने ? त्यो कतिञ्जेल टिक्छ ? कारबाही भइहाल्छ, जनता समाजवादी पार्टीमा पनि त्यस्तै छ,” उनले थपे ।
यसैगरी ओलीले नेता नेपालहरू विरोधीसँग साँठगाँठ गर्दै आफ्नै सरकार ढाल्न लागिपरेको बताएका छन् ।
“अनावश्यक खालको अनुचित तानातान, खिचातानी, अस्वस्थ खालको गतिविधि, त्यो निरन्तर चलिरह्यो । निर्दलीय, अनुशासनहीन र अराजक क्रियाकलाप खुलेआम भए,” उनले नेपाल समूहलाई आरोपित गर्दै भने, “सगर्व गरे । यति निर्लज्ज त मैले डेमोक्रेसीमा मैले कहिल्यै देखेको छैन । डेमोक्रेसीमा मूल्य–मान्यता छाडेर फ्लोर क्रस गर्ने गराउने, बागीविद्रोही उमेदवार उठ्ने उठाउने, बागीविद्रोहीलाई सगौरव घोषणा गर्ने, जिताउन मत हाल्ने, यो कुरा पत्रकार महासंघको चुनावमा पनि देखियो । वाग्मतीमा पनि देखियो । र, हामी एक्लै बहुमतमा थियौँ पार्टीभित्रबाट खुलेआम अन्तरघात गरेर, अनुशासनहीनताको नांगो नाच प्रस्तुत भयो ।”
उनले नेता नेपाल समूहले पार्टीलाई कमजोर बनाउन जुनसुकै भूमिका खेल्न तयार भएको आरोप पनि लगाए ।
