चीनमा दम्पत्तीलाई तेस्रो सन्तान जन्माउन सरकारले प्रोत्साहन गर्ने
काठमाडौं, १७ जेठ : चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ ।
सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको बैठकमा यो निर्णय सुनाइएको हो । सरकारले तीन जना बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने भएको छ ।
चीनमा गहिरिँदै गएको जनसंख्या घट्ने समस्यालाई रोक्न महत्वपूर्ण कदम चाल्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो ।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटार्यड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्सुरेन्स गर्नेलगायतका कुराहरू गरिने जनाइएको छ ।
चीन सरकारले यसअघि दम्पतीलाई दुई बच्चा जन्माउने अनुमति दिइएको थियो ।
वैशाख २८ गते सार्वजनिक भएको चिनको पछिल्लो जनगणनाको रिपोर्टअनुसार अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ ।
सन् २०१० मा गरिएको चीनको छैठौं राष्ट्रिय जनगणनाभन्दा अहिले चिनियाँ जनसंख्या ५.३८ प्रतिशतले बढेको छ । यो दशकको वार्षिक वृद्धिदर ०.५३ प्रतिशत रहेको छ । सन् २००० देखि २०१० मा चिनियाँ जनसंख्या वार्षिक रूपमा ०.५७ प्रतिशतले बढेको थियो । केही दम्पतीहरूले बच्चा नजन्माउने क्रम सुरू भएकाले वार्षिक वृद्धिदर घटेको हो ।
चीनले ३१ प्रान्त, केन्द्र सरकारमातहत रहेका स्वशासित क्षेत्र र नगरपालिकाको जनसंख्यालाई राष्ट्रिय जनगणनामा समेट्ने गरेको छ । हङकङ, मकाउ र ताइवानको जनसंख्या यसमा समावेश हुँदैन ।
विभागले गत वर्ष चीनमा कति बच्चा जन्मिए भन्ने विवरण दिएको छैन । तर २०१९ मा भने १ करोड ४६ लाख बच्चा जन्मिएका थिए । यो संख्या सन् १९६१ पछिकै सबैभन्दा न्यून जन्मदर हो ।
नयाँ जनगणनाअनुसार चीनमा १४ वर्षमुनिका बच्चाहरूको संख्या बढेर कूल जनसंख्याको १७.९५ प्रतिशत पुगेको छ भने १५-५९ वर्षका मानिसको संख्या सन् २०१० भन्दा ६.७९ प्रतिशतले घटेको छ ।
चीनमा सन् १९४९ मा कम्युनिष्ट पार्टीले सत्ता चलाउन सुरू गरेको थियो । त्यसयता सन् १९५९-६१ मा चीनको जनसंख्या घटेको थियो ।
जनसंख्याको वृद्धिदर निकै बढेपछि सन् १९८० मा चीनले एक बच्चामात्रै जन्माउन पाउने नीति लागू गरेको थियो ।
३५ वर्षपछि सन् २०१५ मा चिनियाँ अधिकारीहरूले एक बच्चाको नीति हटाएर एक दम्पतीले दुई बच्चा जन्माउन पाउने बनाए पनि चीनमा जनसंख्या बढ्न नसकेको हो ।
