रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडे

काठमाडौं, १३ जेठ : स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन् ।

दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका हुन् ।  ला लिगामा छिमेकी प्रतिद्वन्दी एट्लेटिको मड्रिडभन्दा पछि रहँदै रियल दोस्रो भएको थियो ।

यसअघि जिदानले क्लबका डिरेक्टर र टिमका खेलाडीलाई आफुले क्लब छाड्ने बताईसकेको स्काई स्पोर्ट्सले जनाएको छ ।

रियल मड्रिडले औपचारिक रुपमा यसबारे पुष्टि गरेको छ । रियाल मड्रिडले मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेको घोषणा गरेको छ । रियलले उनको निर्णयको सम्मान गर्दै क्लबका लागि उनको योगदानको सदैव सम्मान गर्ने बताएको छ ।

जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए  । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।

जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ ।

यस्तै उनले रियललाई २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् ।

यस सिजन भने रियल ला लिगामा दोस्रो स्थानमा रहेको थियो । यस्तै च्याम्पियन्स लिगमा रियल क्वाटरफाइनलसम्म मात्र पुगेको थियो ।

जिदानले छाडेपछि रियलको प्रशिक्षक को बन्छ भन्ने चर्चा हुन थालिसकेको छ । यसअघि मासिमिलियानो अलेग्री जिदानले छाडेमा रियल आउने हल्ला थियो । यस्तै इटालियन क्लब इन्टर छाडेका एन्टोनियो कोन्टे पनि अहिले खाली नै छन् ।

रियलकै पूर्वकप्तान तथा रियल कास्टिलाका प्रशिक्षक राहुलको नाम पनि रियलको नयाँ प्रशिक्षकको रुपमा चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.