संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा
काठमाडौं, १३ जेठ : सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’
संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ ।
आजको बहसमा रिट निवेदकको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओली, सुनील कुमार पटेल, बद्री भट्ट, अजय बुढाथोकी, तुलसी पराजुली, वीरभद्र जोशी लगायतले बहस गरेका थिए ।
उनीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गरेका थिए भने प्रधानमन्त्रीबाट यसअघिको सर्वोच्चको फागुन ११ को फैसला उलंघन भएको समेत दावी गरेका थिए ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १४६ सांसदले बहुमत सांसदले हस्ताक्षर गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।
