नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा
काठमाडौं, १२ जेठ : चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।
टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।
बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो । कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन् ।
जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए ।
दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए ।
मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन् ।
‘कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ । यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो,’ ढकालले भने ।
नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ । राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन् ।
भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो । त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो । त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन ।
