बैंक तथा वित्तीय संस्थाहरुले शेयरमा अल्पकालिन लगानी गर्न नपाउने
काठमाडौं, ११ जेठ : बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजारमा अल्पकालिन लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा अल्पकालिन लगानी गर्न प्रतिबन्ध लगाएको हो ।
लघुवित्तको सेयर (१० जेठ, २०७७) सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो बन्देज लगाएको हो ।
यस अघि बैंक तथा वित्तीय संस्थाहरुले सहजै सेयर किनबेच गरिरहेका थिए । अहिले सञ्चालनमा रहेका अधिकांश जसो बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तमा लगानी गरेका छन् । संस्थापक सेयरकाे हकमा भने याे व्यवस्था लागू नहुने राष्ट्र बैंकले बताएकाे छ ।
यसैगरी अन्य कम्पनीहरुको सेयर पनि छोटो समयका लागि लगानी गर्न बैंकहरुले नपाउने भएका छन् । ‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’
निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् ।
यसअघि लगानी गरेको भए २०७९ असार मसान्तभित्र बिक्री गरिसक्नु पर्ने छ ।
